Menu Close

म्यानमारमा आज देशव्यापी आमहड्ताल

काठमाडौँ । कूमार्फत् सत्ता हत्याएको सेनाविरूद्ध प्रदर्शन गरिरहेका म्यानमारका प्रदर्शनकारीहरूले आज देशव्यापी आमहड्ताल आह्वान गरेका छन्।

शनिबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले आन्दोलनलाई कडा बनाउन आमहड्तालको घोषणा गरेका हुन्।

सडकभरि सुरक्षाकर्मी परिचालन गरेर एक वर्षभित्र नयाँ चुनाव गराउँछु भने पनि जुन्ता सरकारले नागरिकलाई आश्वस्त पार्न सकेको छैन। म्यानमारमा दुई हप्तादेखि लगातार प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनका क्रममा अहिलेसम्म तीन जना प्रदर्शनकारीको ज्यान गइसकेको छ भने एक जना प्रहरीको पनि मृत्यु भएको सेनाले जनाएको छ।

आजको आमहड्तालका क्रममा प्रदर्शनकारीहरूले नागरिकलाई काम बन्द गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।

म्यानमारमा यसअघि नै सरकारी र निजी क्षेत्रका केही कर्मचारीले काम छोडेर नागरिक अवज्ञा थालिसकेका छन्।

प्रदर्शनकारीले हड्ताल आह्वान गरेपछि सरकारी प्रसारण संस्था एमआरटिभीले हड्तालको मूल्य महंगो हुन सक्ने चेतावनी दिएको छ।

‘प्रदर्शनकारीहरूले युवाहरूलाई झडपको अवस्थामा पुर्‍याउन उक्साइरहेका छन्, त्यसले धेरै मानिसको ज्यान जान सक्छ,’ एमआरटिभीमा प्रसारित वक्तव्यमा भनिएको छ।

म्यानमारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अहिलेसम्म अधिकारीहरूले एकदमै धेरै संयम अपनाइरहेको बताएको छ। केही पश्चिमा देशहरूले म्यानमारमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे दिएका टिप्पणीलाई उसले आन्तरिक मामिलामाथिको हस्तक्षेप भनेको छ।

अमेरिकालगायत मुलुकले म्यानमारमा फेब्रुअरी १ मा भएको सैनिक कूको विरोध गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले कूमा संलग्न सैन्य अधिकारीमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *