Menu Close

तरकारी बिक्रीको थलो बन्दै हाटबजार

दैनिक ३०० भन्दा बढी किसान, तरकारी बिक्रीका लागि आउने गरेका छन् । कैलालीको टीकापुरमा सञ्चालित तरकारी हाटबजारमा ताजा र स्थानीयस्तरमा उत्पादन भएको अग्र्यानिक तरकारी पाइने भएपछि उपभोक्ताको भीड लाग्ने गरेको छ ।

हाटबजारलाई व्यवस्थित गर्न टीकापुर नगरपालिकाले ब्लक नं ११ मा तरकारी राख्ने सेड निर्माण गरेको छ । टीकापुर–४ अस्नेहरीका राजेश चौधरीले भने, “हाटबजारमा घरमा उत्पादन भएको तरकारी ल्याएर बिक्री गर्न सहज भएको छ । थोरै बारीमा खेती गरेका किसानले आफूलाई बढी भएको तरकारीसमेत बिक्री गर्न सजिलो भएको छ ।”

मङ्गलबार र शुक्रबार गरी हप्ताको दुई दिन लाग्छ हाटबजार । २५० देखि ३०० किसान र व्यापारी तरकारी, माछा र नास्ताका पसल त्यहाँ आउने गरेका छन् । हाटबजारमा व्यवसाय गरेवापत रु १० देखि ५० शुल्क तिर्नुपर्छ  । तरकारी बिक्री गर्नेले रु १० देखि २० र माछा र होटलले रु ५० शुल्क तिर्नुपर्छ । “एक दिनमा रु तीन हजार ५०० देखि तीन हजार ८०० शुल्क उठ्छ”, शुल्क बुझ्ने कर्मचारी नैनाकुमाल चौधरीले भने, “तरकारी पाइने सिजनमा ३०० कृषक हाटबजारमा आउँछन् ।”

“हाटबजारकै कारण तरकारी उत्पादक किसानले मूल्य पाएका छन्, किसानले आफ्नो उत्पादन आफैँ बेच्न पाउने वातावरण बनेको छ यसलाई व्यवस्थित गर्न जरुरी छ”, किसान शेरबहादुर साउदले भने, “तरकारी बिक्रीका लागि बनाएका सेड व्यवस्थित गर्नुपर्छ । अरु ठाउँबाट बजेट रकमान्तर गरेर भए पनि हाटबजारलाई सके जति व्यवस्थित गर्न जरुरी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *